‘रेनसाँस’ क्याफेमा कफीका लागि आउनेहरूको लाइन नभएको दिन भेट्नु भनेको बालुवामा सुन भेट्नु जस्तै हो। शनिवारको बिहान कफी लिन जाँदा पनि आफूभन्दा अगाडि दुईजना थिए लाइनमा कफीको शुल्क तिर्नको लागि। दुवैजना विश्वविद्यालयमा भइरहेका अनेकौं निर्माणकार्यहरू मध्ये कुनैमा काम गर्ने कामदारहरू रहेछन्। उमेरले अलि पाको देखिने महाशयले दुइवटा कफी र एक क्वासँ (croissant) माँगे र त्यसको मूल्य चुकाउनलाई खल्तिबाट केही सिक्काहरू तथा एउटा दस डलरको नोट निकाले।
यसैबीच क्याफे चलाई बसेका भाइले सोधे - “क्वासँलाई अलि तातो बनाइदिउँ?” उनी त्यस्तै ३० सेकेण्डजति माइक्रोवेभ ओभनमा राख्दिन्छन् न्यानो पार्नलाई। तर ती कामदार महाशयले बुझेनन् के सोधेको भनेर। दुई-तीन चोटी सोधेपछि बल्ल बुझे उनले। अनि तुरुन्तै “हुन्छ” भने। त्यसपछि मूल्य चुकाउन तयार भए ती महाशय। सिक्काहरूले मात्रै कफी र क्वासँको मूल्य तिर्ने पहिले, अनि पुगेन भने मात्र दसको नोट चलाउने विचारमा रहेछन् तिनी। सिक्काहरूले नै सबै मूल्य चुक्ने थाहा पाएपछि निकै खुशी देखिए दुवैजना। अनि एक आपसमा त्यस क्याफेका खानेकुराहरूको भाउको अनि क्याफेको बारेमा केही प्रतिक्रिया साटे, सकारात्मक प्रतिक्रियाहरू! त्यसपछि ती महाशयले आफ्नो खल्तिबाट वालेट निकाली त्यो दसको नोट त्यसभित्र राखे अनि वालेटलाई फेरि खल्तिमा हाले - तिनको अनुहारमा हर्षका रेखाहरू प्रष्टै देखिन्थे।
त्यसपछि आयो मेरो पालो, र मैले केवल कफीको मूल्य चुकाउनु थियो। अनि आफ्नै कफी-मग बोकी आएको हुनाले अलि सस्तोमा परेँ (त्यहीँ भएका कागजका कपहरूमा भन्दा आफ्नै मगमा कफी लिन आउँदा १५ सेन्ट सस्तो पर्छ एक कप कफीको!)। खैर, मूल्य चुकाएपछि आफ्नो मगमा कफी भर्न कफीका थर्मसहरूका लाइन भएतर्फ लागेँ। ती दुई महाशयमध्ये पाकाले कफी लिइसकेका रहेछन्। तर अर्का भने कुन किसिमको कफी पिउने निर्णय लिन नसकी अल्झिएझैँ देखिन्थे। ती महाशय मलाई मनपर्ने कफी राखिएको थर्मस अगाडि उभिएका थिए, त्यसैले मैले तिनीसँग क्षमा माग्दै आफ्नो मगमा कफी भर्न थालेँ।
मेरो मनपर्दो कफी थियो ‘फ्रेन्च डार्क रोष्ट’, अनि मैले आफ्नो मग भर्दै गरेको देखेर तिनले सोधे - “कस्तो छ त्यो कफी?”
मैले तुरून्तै जवाफ दिएँ - “कडा, तर मेरो मनपर्दो पनि।”
आफ्नो मग भरेर कफीमा केही क्रिम राख्दै गर्दा तिनले पनि फ्रेन्च डार्क रोष्ट आफ्नो कपमा हाल्दै गरेको देखेँ मैले। तर उनको खालि एक किसिमको कफीले आफ्नो कप भर्ने विचार रहेनछ - अन्य प्रकारका कफीहरू पनि थप्दै थिए आफ्नो कपमा। त्यहाँ कम्तिमा पनि छ किसिमका कफीहरू थिए। मैले सोचेँ - “यति बिहानैदेखि आफ्नोलागि ककटेल ड्रिकं बनाउँदैछन् यी महाशय - अनि त्यो पनि निकै उपयुक्त ककटेल, कफीको!”
एकछिन पछि बाहिर निस्केर आफ्नो अफिसतिर जाँदै गर्दा निकै हर्षित मुहारलिई दुई कामदारहरू निर्माणकार्य हुँदैगरेको स्थानतिर गइरहेको देखेँ। मैले एकछिन अघि क्याफेमा देखेका महाशयहरू थिए ती!



copylefT 2008
Hmm..
I should try that!! Cocktail coffee!!
Mero laptop had already tasted simple coffee..so maybe it will also like cocktail one too..:D
म पनि कफीको सोलो फ्यान हु। पहिले म कफीलाई पिउथे तर आजकल लाग्छ कफी मलाई पिउने गर्छ। लेख राम्रो छ।……keep on rolling.